काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटोभन्दा छिटो चुनाव चाहिएको बताएका छन्।
पर्साको जगरनाथपुर गाउँपालिकामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा आयात बढेको निर्यात घटेको तथा मुद्रा सञ्चिती पनि नभएकाले छिटोभन्दा छिटो चुनाव आवश्यक रहेको बताए।
‘हामीले बाहिर पठाउने सामान अर्थात् निर्यात घटेको छ, आयात बढेको छ, बैंकमा जाँदा पैसा छैन,’ उनले भने, ‘अब फेरि नेपाल गरिबीतिर मोडिएको छ, त्यसकारण छिटोभन्दा छिटो चुनाव चाहिएको छ।’
देशलाई ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन रोजगारी शिक्षालगायतका लागि एमाले आवश्यक भएको उनको जिकिर थियो। राष्ट्र निर्माणको अभियानमा एमालेलाई मजबुत बनाउन पार्टीमा प्रवेश गर्न ओलीले आमजनसमुदायसित अनुरोध गरे।
एमालेको सरकारका पालामा वृद्धा भत्ता सय रुपैयाँबाट सुरु गरिएको जानकारी दिँदै एमालेकै कारण मासिक चार हजार रुपैयाँ पुगेको उनको दाबी थियो।
एमालेको सरकार भएको बेलामै हुलाकी राजमार्ग आयोजना पूरा भई गाउँ–गाउँसम्म सडक पुगेको बताउँदै ओलीले फुसका छानालाई जस्तापाताबाट विस्थापित गर्ने योजना आफूहरूकै पालामा ल्याइएको जानकारी दिए।