काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री र प्रधानसेनापतिको भ्रमण स्थगित गर्न माग गरेका छन्।
संसदमा जारी बजेटमाथि छलफलमा भाग लिँदै सांसद गुरुङले अहिले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिका भ्रमण उपयुक्त नहुने बताए। ‘प्रधानसेनापति र प्रधानमन्त्रीको भ्रमण आवश्यक छैन,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा संवेर्दनशीलतालाई ध्यानमा राखेर भिजिट स्थगित गर्न आग्रह गर्दछु।’
दौत्य सम्बन्धका आधारमा मित्र राष्ट्रमा औपचारिक भिजिटहरु हुनसक्ने भए पनि तर अहिले अत्यन्तै संवेदनशील अवस्था रहेको उनको भनाइ छ। ‘अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको छ। हामीले शान्तिपूर्ण नीतिमा जानुपर्नेछ,’ उनले भने।
एसपीपी सम्झौतामा अमेरिकाले दबाब दिइरहेको भन्दै नेता गुरुङले कुनै पनि सम्झौता गर्दा सर्वपक्षीय र राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।
अमेरिकाले नेतृत्व गरेका सबै समूह र सम्झौता फौजी रणनीतिअनुसार गइरहेकाले नेपाल जोगिनुपर्ने उनको भनाइ थियो।