काठमाडौं । बुटवलको मोतीपुरमा निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी भएको छ ।
पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको हो । झडपका कारण मोतिपुर क्षेत्र तनावग्रस्त छ । प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे । अस्थायी रूपमा बनाइएका टहराहरू प्रहरीले भत्काउन खोज्दा झडप भएको हो । झडपमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन् । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।प्रशासनले तीन दिनदेखि रातिमा टहराहरू भत्काउँदै आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो ।