काठमाडौं । सत्तारुढ गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज ( आइतबार) बस्दैछ ।
समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालका अनुसार बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो ।
एक नेताका अनुसार बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुनुका साथै निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुनेछ ।
२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।