काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन -एमसीसी_ यथास्थितिमा पास गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।
पहिले सत्तागठबन्धनको एकीकृत धारणा कुर्ने र त्यसपछि एमालेले आफ्नो निर्णय लिने उनको भनाइ छ । तथापि, एमसीसीलाई यथास्थितिमै पास गरेर जान हुन्न भन्ने आफूहरुको धारणा रहेको उनले बताए ।
यथास्थितिमा एमसीसी पास गरेर जाने पक्षमा एमाले नरहेको उनले बताए । एमसीसीलाई पास गर्ने वा फेल गर्ने वा संशोधन गरेर मात्रै पास गर्ने भन्ने विषयमा सबैभन्दा पहिले सत्तागठबन्धनको एकीकृत धारणा तय हुनुपर्ने उनको आग्रह छ ।
‘सत्तागठबन्धनको एकीकृत धारणा बनोस् पहिले । उहाँहरुको एकीकृत धारणा के हो ? भन्ने नै बुझिएको छैन । पास गर्ने जस्तो गठबन्धनभित्र देखियो भने हाम्रो के रह्यो र ?’ उनले भने ।
प्रमुख सचेतक भट्टराई थप्छन्, ‘उहाँहरुका १६५ सांसद छँदैछन् । उहाँहरुले १६५ लाई एकढिक्का राख्न सक्नुहुन्छ कि हुन्न हामी हेर्छौं । त्यसपछि एमालेले आफ्नो कदम चाल्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच दलीय गठबन्धनमा रहेका १६५ सांसदको समर्थन थियो । त्यहि १६५ सांसदलाई एमसीसीमा एकढिक्का राखेर सरकारले निर्णय लिन सक्छ कि सक्दैन भन्नेमा एमालेको चासो छ ।