काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएका छन् । उनले शुक्रबार एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
ओलीले भने ‘छिमेक सम्बन्धलाई कृत्रिम रुपमा तनाव बढाउने काम भयो । अर्काको निम्ती त्यस्तो गरियो । गैरजिम्मेवार प्रवृत्ति देखा परे । हाम्रो जस्तो भूराजनीतिक अवस्थिति भएको देशमा धेरै खतरनाक हुन्छ,’ कुन देशकाविरुद्ध देउवाले त्यसो गरेको हो भन्ने उल्लेख गरिकनै नयाँ सरकारले त्यसलाई ठिक गर्ने बताए
उनले नेपालको भूमि कसैको प्रयोग गर्न नदिने र सैन्य रुपमा कतै संलग्न नहुने उल्लेख गरे । ‘हामी कसैको पनि सैनिक शिविर, कुनै प्रकारको सैनिक गतिविधिहरु वा अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं । कसैको पनि राख्यो भने हाम्रो लागि अहितकर हुन्छ हाम्रो सार्वभौम सत्तामाथिको अतिक्रमण हुन्छ । कुनै पनि हाम्रो सार्वभौमसत्ता, स्वाधिनतामा कुनै प्रकारको सम्झौता गर्दैनौं र परस्परिक लाभ र सम्मानको आधारमा सम्बन्ध राख्छौं,’ ओलीले भने । उनले नेपालले विकासशील देशमा नेपाल स्तरोन्नति गर्ने निर्णय भएपनि पछिल्लो समयमा अर्थतन्त्रमा समस्या देखिएको बताए ।


