काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भारतको संसद भवनमा राखिएको अखण्ड नक्साको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।
सांसद पन्तले बिहीबारको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको बताए । ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो’, सांसद पन्तले भने, ‘यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’
नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न भएको उनले बताए । भारतका लागि नेपाली राजदूत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेको भन्दै उनले प्रष्ट पार्न सरकारसँग माग गरे ।


