काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबैलाई महिलाको सशक्तिकरण अभियानमा एक भएर लाग्न अपिल गरेका छन् । अध्यक्ष आलीले आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो अपिल गरेका हुन् ।
ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ , “महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मुलतः शिक्षामा जोड दिंदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु” ।
महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको भन्दै अध्यक्ष ओलीले संसारभरका महिलालाई समानताको हक अधिकार स्थापित गर्न दिवसले प्रेरणा मिल्ने शुभकामना व्यक्त गरेका छन् ।


