काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । उनले मंगलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेकी हुन् ।
उनले शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेन्डा लागु गरेर छोड्ने बताइन् । यो क्षेत्रमा अहिलेसम्म भएको कार्यप्रगति चित्तबुझ्दो नभए पनि सुरुआत भएको उल्लेख गरिन् ।
सरकारले मात्रै गर्नेभन्दा पनि सबैको सहयोगको आवश्यकता रहेको सुनाइन् । सबैको साथ सहयोग भए मात्रै यो एजेन्डाले सार्थकता पाउनसक्ने बताइन् । शिक्षामा दलीय राजनीतिकरण रहेसम्म समाज, शिक्षक र विद्यार्थीहरूको शिक्षण पेसामा मर्का पुर्याइरहने उल्लेख गरिन् ।