काठमाडौं । आज नेपालमा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस दिवसको नारा ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने रहेको छ ।
दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागितामा मूल समारोह हुँदै छ । त्यसअघि बिहान सात बजे काठमाडौंको भृकुटीमण्डपबाट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अगुवाइमा प्रभातफेरि आयोजना हुँदै छ ।
त्यसपछि बिहान नौ बजेपछि होटल याक एण्ड यतीमा राष्ट्रपतिले मूल समारोह उदघाटन गर्ने छन् । उदघाटन समारोहपछि युवाका सरोकारका विषयमा युथ समिट (युवा सम्मेलन) हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।


