काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामा सबैको समान अधिकार हुने बताएका छन् ।
राष्ट्रिय शिक्षा दिवस– २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।