काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रान्तिका हर्कत भइरहेको टिप्पणी गरेका छन् ।
उनले आज पार्टी कार्यालय पेरिसडाँडामा जनयुद्धका सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको तर्क गरे।
‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ,’ उनले भने, ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ। त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै अहिले सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हो।’


