काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा दुर्व्यवहार गरेको लगायतका आरोपको कास्की प्रहरीले खण्डन गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त शर्माले आइतबार विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘यस्ता तथ्यहीन, भ्रामक एवम् झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमासमेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्रै सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, शर्माले भनेका छन् ।


