काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले बौद्ध विहार संघ, ललितपुरको शनिबार अक्षश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती वर्ष शुभारम्भ कार्यक्रममा धर्मनिरपेक्ष नेपालमा सबैलाई स्वतन्त्रतापूर्वक आफ्नो आस्थाअनुसार धर्ममा लाग्ने अधिकार रहेको तर यसलाई राजनीतिका रूपमा स्वीकार्य गर्न नसकिने दोहोर्याए ।
पाँच वर्षअघि भियतनाममा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आफूले भाग लिएको उनले उल्लेख गरे । त्यस्ता सम्मेलन संयुक्त राष्ट्रसंघको आयोजनामा नेपालमा गर्ने कुराकानी भएका बेला कोरोना महामारीले असर गरेको उनले बताए ।


