काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान ११ बजे चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । उनी चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग मंसिर १८ गते बेइजिङमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मंसिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी कमिटी अध्यक्ष झाओ लेजीले समेत भेट गर्ने कार्यक्रम छ ।भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नेछन् ।