काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ ।
आरोपपत्रमा देशकै सबैभन्दा ठूलो, तर विकट हिमाली जिल्ला डोल्पामा सरकारी कर्मचारीले हदसम्म अख्तियार दुरुपयोग गरी अनियमितता गरेको व्यहोरा उल्लेख छ ।
जिल्ला प्राविधिक कार्यालय दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख रविचन्द्र पजियारसमेत चार जनाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख भएअनुसारस पजियार लगायतले डोल्पा सदरमुकाम नै रहेको साविक दुनै गाविसमा हुँदै नभएको विद्यालयका नाममा भवन बनेको भनी कीर्ते बिलबिजक र फर्जी उपभोक्ता समिति गठन गरी कम्पनीमा सात लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ ।


