काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भूमिका जन्मिएको बताएका छन्। उनले सोमबार पार्टीको पर्यटन विभागले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
‘राम जन्मिएको भूमि नेपालमै पर्छ। सायद् त्यहाँ थारु गाउँ थियो कि। अहिले पनि त्यो भू-भाग नेपालमै पर्छ। तर, यति प्रचार गर्न हामी सक्दैनौं। हामी भन्न सक्दैनौं। यति आँट गर्न सक्दैनौं। अप्ठ्यारो मान्छौं। को रिसाउँछ जस्तो लाग्छ, अनि हामी के गरी खान्छौं ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे।
उनले राम र लक्ष्मणको शिक्षा दीक्षा पनि नेपाली भूमिमै भएको बताए। ज्ञान, उर्वर भूमि, विद्वान पूर्खा र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले विश्वमा काम गर्ने जाति भनेर चिनिएको देशका नागरिकले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरखमा विश्वास गरी काममा लाग्नुपर्ने बताए ।


