काठमाडौं । गएरातिदेखि देशका प्रायः सबै उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।
भारी हिमपात कारण मुस्ताङको कागबेनी–कोरला सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ ।
हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।
त्यसैगरी, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् ।
यसैबीच, बाजुर जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।


