काठमाडौं । छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाए लगत्तै प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा सिफारिस भएका छन् ।
यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त भएका थिए । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए ।
सरकारले उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षताको समितिले शुक्रबार प्रधानमन्त्री शाहसमक्ष प्रतिवेदन बुझाएको थियो । यसैगरी बालेन्द्र शाह नेतृत्वको सरकारमा महावीर पुन पनि मन्त्री बन्ने भएका छन् । उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको हो । पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री थिए ।


