काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणको मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार थुनछेक बहसपछि गोल्छालाई १ करोड रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएर साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो । गोल्छालाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको थियो ।
अदालतमा पेश गरिएको अभियोग पत्रमा गोल्छाले हिमालयन रि-इन्सुरेन्सको अध्यक्ष रहँदा संस्थाको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ र व्यक्तिगत ५२ करोड ५० लाख रुपैयाँ अवैध रूपमा सेयर बजारमा परिचालन गरेको आरोप लगाइएको छ ।


