काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सुरु गरेको छ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर सेवाको सुरुवात गरेका हुन्।
‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्र अन्त्य गर्ने अठोट गरेको थिएँ, लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजश्व अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौ’, अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भने ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौ, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छौ।’
‘स्वास्थ्य परीक्षण पनि यातायात ब्यवस्था कार्यालयसँगै प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौँ’, यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने।


