काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो आम निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेको थापाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रस्टता र प्रतिबद्धताको आवश्यकता छ । यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन सकिन्छ,” उनले भने ।
महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए । निर्वाचनमा पार्टीको उमेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उनले औँल्याए ।


