काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
उनले शनिबार शङ्खधर साख्वाः प्रतिष्ठानले मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने बताउँदै प्रतिष्ठानका केही जायज माग राज्यको क्षमताअनुसार क्रमशः पूरा गरिने जानकारी दिए।
सरकारीस्तरमा नेपाल भाषाको संरक्षणका लागि विभिन्न प्रयास भइरहेका तथा त्यस क्रममा राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालबाट नेपाल भाषामा समाचार प्रकाशन एवं प्रसारण थालिएको प्रधानमन्त्रीले बताए।


