सत्ता गठबन्धनले नागरिकता विधेयकबारे बन्द कोठामा निर्णय गरेर संसदको अधिकारमा हस्तक्षेप गरेकोप्रति एमालेको आक्रोश
काठमाडौं । नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिले संसदमै फिर्ता गरे पनि सत्ता गठबन्धनको बैठक बसेर नागरिकता विधेयकलाई हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ।
प्रतिनिधि सभामा पुनर्विचारका लागि सन्देशसहित पठाइएको विधेयक विषयको निर्णय संसदले नै गर्न पाउनुपर्ने एमालेका सांसद प्रदिप ज्ञवालीको भनाइ छ।
आफूले सार्वजनिक सञ्चारमाध्यमबाट हुबहु फिर्ता पठाउने निर्णय भएको सुनेको भन्दै उनले भने, ‘हिजो मात्रै उहाँहरुले जस्ताको त्यस्तै फिर्ता पठाउने निर्णय गर्नुभएछ। सत्तारुढ दलको नेतृत्व गरिरहेको दल आफूलाई संसदीय व्यवस्थाको हिमायती र एकमात्र पक्षधर भन्छ। बन्द कोठामा बसेर संसदको अधिकार संकुचित गर्न मिल्छ कि मिल्दैन ? यसरी संसदको गरिमा कायम हुन्छ कि हुँदैन?’
राष्ट्रपतिको सन्देशबाट सुधार गर्ने महत्वपूर्ण अवसर प्राप्त भएको उनले बताए। यो अवसरलाई सदुपयोग गर्नुपर्ने उनको भनाइ छ।


