काठमाडौं । करीव डेढ महिनादेखि प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित हडताली न्यायाधीश समूहका सहयोगी वकिलहरुले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेतासँग परमादेशको पैंचो मागिरहेका आन्दोलनकारी बार पदाधिकारीले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउन दबाब दिइरहेका छन् । एमालेलाई पनि महाअभियोगमा मनाउन बार नेतृत्वले अध्यक्ष ओलीसँग भेट्न लागेको हो ।
एमाले सहमत नभएसम्म महाअभियोग पारित नहुने र प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले महाअभियोग लगाएमा एमालेले परमादेश जारी गर्ने अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग लगाउने निश्चित रहेकाले ओलीसँग बारको भेटलाई अर्थपूर्ण मानिएको छ ।
आन्दोलनकारी वकिल र बार नेतृत्व केपी ओलीका विरोधी मानिन्छन् । यसअघि बारले एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटे पनि ओलीले भेट दिएका थिएनन् ।
एमालेले अहिलेको अवस्था आउनुमा अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्ने फैसला नै कारक रहेको र यसमा तत्कालीन संवैधानिक इजलासका पाँचैजना न्यायाधीश र बार नेतृत्व समेत जिम्मेवार रहेको बताउँदै आएको छ ।