काठमाडौं । अन्य दलबाट निर्वाचन जितेका जनप्रतिनिधिहरु धमाधम एमालेमा प्रवेश गर्न थालेका छन् । यसैबीच दोलखामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई जना वडाध्यक्षसहितका जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बुधवार चरिकोटमा आयोजित एमालेको जिल्ला भेलामा जिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमासाङ्गे शेर्पा र विगु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरन्यवहादुर गुरुङ एमालेमा प्रवेश गरेका हुन् ।यसैगरी कालिन्चोक गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विकास थापा र रमण थामी पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल,वागमती प्रदेश अध्यक्ष आनन्द पोखरल,जिल्ला इन्चार्ज पार्वत गुरुङ लगायतले स्वागत गरेका थिए ।
नेकपा एमाले नै नेकपा एकताको निरन्तरता भएको भन्दै माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरु मूलधारमा समाहित भएको बताए ।
एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले दोलखामा पार्टी विभाजनको असर नपरेको बताउँदै माओवादी केन्द्र र नेपाली कांग्रेसबाट धेरै कार्यकर्ताहरु एमालेको प्रवेश गरेको उल्लेख गर्दै देशको लागि काम गरेर देखाउन सक्ने पार्टी एमाले मात्र भएको बताए ।