काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने बताएका छन् ।
दशौं महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर प्रतिनिधि चयन गर्दैछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि पनि सहमतिमै चयन हुने पोखरेलले बताए ।
शुक्रवार एमाले दशौं राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिद्वारा आयोजित लोगो सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशभरका नेता कार्यकर्ताहरूले सहमतिमै नेतृत्व चयन हुनुपर्ने चाहना राखेको बताए ।
सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘तपाईंहरूले नेताहरूलाई कुन पदमा उम्मेदवारी दिनुहुन्छ भन्ने प्रश्न गर्न थाल्नुभएको छ । दशौं महाधिवेशनबाट सर्वसम्मतिमा एमालेको नेतृत्व चयन हुन्छ ।’