काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजालाई ‘जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज’को संज्ञा दिएका छन्।
राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्य पदका लागि बुधबार सम्पन्न निर्वाचनबाट एमाले एक सिटमा मात्र विजयी भएको छ भने बाँकी सबै सिट सत्ता गठबन्धनका उम्मेदवारले जितेका छन्।
परिणाम सार्वजनिक भएलगत्तै एमाले महासचिव पोखरेलले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हुन्।
‘वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजरानास्वरूप यस चुनावमार्फत प्रचण्ड र माधव नेपालहरूले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेका छन्’, पोखरेलले भनेका छन्, ‘तर पनि यस निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारले गठबन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन्।’
नेकपा एमालेका अधिकतर उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गरेको दाबी पनि उनले गरेका छन्।
‘स्थानीय तहका जनप्रतिनिधिहरूको अतिरिक्त भोट नेकपा एमालेका उम्मेदवारलाई प्राप्त भएको छ’, एमाले महासचिव पोखरेलको दाबी छ, ‘यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठबन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ।’