काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ओलीनिवास बालकोट पुगेका छन् ।
आफूले कारबाही गरेका सांसदलाई सभामुखले जोगाएको भन्दै एमालेले संसद चल्न दिएको छैन । प्रधानमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले निवासमै गएर उनलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो ।
आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्योदश ल्याएकोमा र त्यसमा सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै ओली निकै रुष्ट छन् ।
एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन । ओली–देउवाको भेटले जारी गतिरोध अन्त्य हुने आश गरिएको छ।