काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को चुनाव जित्न नसक्ने दावी गरेका छन् । नेपाललाई अपराधिक तत्व संज्ञा दिँदै उनले अब एमालेमा उनको स्थान नभएको बताए ।
झापामा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधवलाई आफूहरूले टाँसिदिएको जुँगामा ताउ नलगाउन आग्रह गरे ।
‘संसदमा एक(दुईजना मान्छेहरू उफ्रिपाफ्री गरिरहेका छन्,’ ओलीले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ नलगाऊ, पहिले आफू जुँगा उमार ।’
उनले अगाडि थपे, ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन् । उनीहरूलाई कसले भोट दिन्छ ? विनाशकारी, विध्वंसकारी तत्वलाई कसले भोट दिन्छ ? जनताले भन्नेछन् जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?
माधव नेपाललाई अपराधिक तत्वको संज्ञा दिँदै ओलीले उनलाई एमालेमा अब कुनै स्थान नरहने बताए ।
‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन ।