काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरेका छन् । उनले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताए
शुक्रबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताए । प्रतिक्रियावादीहरुले यस्तो भ्रामक खबर फैलाएको उनको भनाइ छ ।
‘६ महिनामा गर्नुपर्ने उपचुनाव पद सकिएको एक वर्ष भइसक्दा समेत गराउन नसक्नु भनेको गठबन्धनभित्र हारको डर नै प्रमुख कारण हो,’ उनले भने । राष्ट्रियसभाको निर्वाचनले पनि सत्तारुढ गठबन्धन एमालेसँग झस्किएको बताउँदै साहले समयमै स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिए ।