काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले विनोद चौधरीलाई ४ अर्ब फाइदा हुने काम आफूले नगरिदिएबापत प्रचण्ड आफूविरुद्ध लागेको दावी गरेका छन् ।
एमाले काभ्रे – काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिवार सम्बोधन गर्दै उनले दलाल पुँजिपतीहरुका लागि प्रचण्डले आफूलाई पटकपटक बोलाएर प्रधानमन्त्रीसमक्ष लगेर काम गराउन खोज्दा पनि नमानेपछि आफूविरुद्ध षड्यन्त्रमा लागेको बताए ।
बास्कोटाले भने, ‘पुष्पकमल दाहालले ठूला कुरा नगरे हुन्छ,विनोद चौधरीका लागि कतिपटक मलाई दबाब दिए । दिनै नहुने लाइसेन्स दिएर नेपाल टेकिलम डुबाउने खेल मैले मानिन । २५ लाखमा लाइसेन्स दिदा चौधरीलाई ४ अर्ब फाइदा हुने रहेछ ।’
बास्कोटाले पाँचखाल पुगेर प्रचण्डले आफूविरुद्ध भाषण गरेको भन्दै दलालका काम नगरे बापत प्रचण्डले विभिन्न पात्र खडा गरेर बदनाम गराउन खोजेको बताए । उनले हिम्मत भए कारवाही गरेर आफूलाई जेलमा हाल्न चुनौति समेत दिए ।