काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कनेक्सन कहाँ छ आफूलाई सबै जानकारी रहेको बताएका छन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बुधबार आयोजित पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रममा उनले प्रचण्ड र नेपालले मुलुकमा अस्थिरतामात्रै सिर्जना गरिरहेको आरोप लगाएका हुन्।
अध्यक्ष ओलीले माओवादी केन्द्रलाई प्रचण्ड एण्ड कम्पनी र एकीकृत समाजवादीलाई माकुने एण्ड कम्पनी भएको संज्ञासमेत दिए। उनले प्रचण्ड र नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रणसमेत गरे।
‘अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ। अस्थिरता मच्चाउन खोज्ने शक्तिहरु क्रियाशील छन्। कतिपय शक्तिहरुले नियन्त्रित अस्थिरता भनिराखेका छन् र त्यसका लागि र ती कामहरु गर्ने शक्ति यहाँ छन्। नियन्त्रित अस्थिरताका संवाहक शक्तिहरु, अस्थिरतामात्रै क्रियट गर्न खोज्ने शक्तिहरु छन्। अहिले ती शक्तिहरुमा सबैभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी। सबभन्दा अहिले अस्थिरताका संवाहक तत्वहरु यिनै हुन्’, ओलीले भने, ‘यसमा कुनै भ्रम राख्नुपर्दैन र अझै कतिपय साथीहरुमा कम्युनिष्ट एकता भनिरहेका छन्। यस्ता अस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छरु त्यो एकीकरण सम्भव नै छैन। हामीले राम्ररी चिनिसकेका छौं। यिनको कनेक्सन कहाँ छरु तार कहाँ जोडिएको छरु कहाँबाट स्विच अन–अफ हुन्छ। यो हामीले देखेका छौं। छर्लङ्गैं देखेका छौं।’
उनले माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको जिकिर गरे।
‘महान जनयुद्ध भनेर युवा र जनतालाई, महिलाहरुलाई दुर्गम ठाउँहरुबाट उरालियो। सुगम ठाउँहरुबाट उरालियो। युवाहरु ज्यान दिन तयार भए। होमिए। परिवर्तन भनेर’, ओलीले थपे, ‘हतियार कहाँबाट आयो ? त्यतापट्टि फर्किएर हेर्न दिइएन। एउटा सेन्टिमेन्ट ल्याइयो। तर यति बुझिएन, यति हेरिएन। कहाँबाट कसले हतियार दिँदैछ नेपालमा अस्थिरता ल्याउनलाई ?’
उनले जनयुद्ध सफल गर्न सुरु नै नगरिएको भन्दै यो एउटा बार्गेनिङ चिप्स भएकोसमेत दावी गरे। ‘नेपालमा जनयुद्ध नामको सफल हुँदैनथ्यो किनभने सफल गर्न सुरु गरेकै होइन’, ओलीले भने, ‘त्यो त अस्थिरता क्रियट गर्न, त्यो त एउटा बार्गेनिङ चिप्स हो। गोडाको लगाम आफ्ना हातमा हुन्छ नि१ लगाम हातमा राख्ने एउटा विधि हो। त्रसित, अशान्त, अस्तव्यस्त बनाइदिने र आफ्नो दुनो सोझ्याउने नीतिअन्तर्गतका कुराहरु भए।’