काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया लगायतका स्थान डुबानमा परेका छन् ।विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् ।
आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौंदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका हुन् ।