काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङ चुहिएको छ ।
आयोजनाले मंगलबार एक सूचना जारी गर्दै सुरुङबाट पानी लिकेज भएको जनाएको हो । आयोजनाले केही समयअघि सुरुङभित्र पानी पठाएर परीक्षण गरेको थियो ।
परीक्षणको क्रममा बाह्रबिसे नगरपालिका वडा नम्बर ६ मा पर्ने बोर्डरल्याण्ड नजिकै ढुंगाखानीमा पानीको मुल बढेको र अन्य केही स्थानमा थप मूलहरु देखा परेपछि स्थानीयबासीले आयोजनालाई खबर गरेका थिए ।

जम्मा ७.१२६ किमि सुरुङमार्ग रहेको आयोजनाले पानी पठाएर परीक्षण गर्ने कार्य भइरहेको जनाउँदै विज्ञसहितको टोलीले यसबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । उसले सुरुङबाट पानी पठाउने कुराको जानकारी स्थानीय पत्रपत्रिका, एफएम स्टेशन तथा माइकिङ मार्फत स्थानीयवासीलाई पटक पटक दिएको समेत बताएको छ ।
सुरुङमा पानी पठाएपछि ढुंगाखानी रहेको स्थानमा पानीको मूल ह्वात्तै बढेकाले बस्ती नै जोखिममा परेको भन्दै हारगुहार गरेका थिए ।



