काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सोलारबत्ती जडानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
यसरी मुद्दा दायर गरिएकाहरुमा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष एवं योजना अनुगमन समिति संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिका सदस्यद्वय दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सवइन्जिनियर जागेश्वर मण्डल रहेका छन् । यसका साथै आयोगले उपभोक्ता समितिका अध्यक्ष रबेन्द्रकुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवविरुद्ध आइतबार ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा गरेको हो
अख्तियारले नगरपालिकाका उपप्रमुख एवं योजना अनुगमन समितिका संयोजकसहित तीन, प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीबाट छुट्टाछुट्टै ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ जरिवाना, कैद सजाय र हिनामिना भएको रकम असुलउपर गर्नुपर्ने मागदाबी लिएको हो ।