काठमाडौं । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन गर्नमा आफ्नो मात्रै एकल पहल रहेको दावी गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका उनले शुक्रबार संघीय संसद्को प्रतिनिधि सभाको शून्य समयमा बोल्दै यस्तो जिकिर गरेका हुन् । उनले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणका लागि बजेट विनियोजनबारे अहिले अरुले अनावश्यक हल्ला फिजाएको बताए ।
उनले भने, ‘म डोटीबाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे र धाए । बजेट विनियोजन गराइए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफूले बजेट विनियोजन गराएको भन्दै हल्ला फिँजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन् की प्रदेशका मन्त्री, सांसदले ?।’


