काठमाडौं । ‘चपली हाइट’ चलचित्रबाट अचानक उदाएका कलाकार हुन् राज घिमिरे । उनको परिचय यतिमा मात्र सीमित छैन । उनी नेता पनि हुन् र समाजसेवा पनि गर्छन् । जसले उनको सेवा भोग गर्न पाएका छन् उनीहरुले अरुलाई पनि सुनाउने गरेका छन् ।
आफ्नी आमालाई मुटु सम्बन्धी समस्या भएर हाल गंगालाल अस्पतालमा उपचाररत हुँदा पनि उनले अरुको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । उनले भर्खरैमात्र पैसाको अभावमा उपचार गर्न नसकेका गोदावारी नगरपालिका–३ का शेरबहादुर तामाङलाई २० हजार रुपिँया सहयोग गरे । स्थानीय राजु थिङले घिमिरेको सहयोग अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।
राजलाई आफ्नी आमाको पीडाले एकातिर पोलेको छ भने अर्कातिर गाउँघर समाजमा केही समस्या आयो कि मलाई खोजे होलान् कि भन्ने चिन्ता पनि छ । ‘ म यहाँ आफ्नै समस्यामा छु, कसैलाई पनि मलाई यस्तो भयो भनेको छैन, जे आइपर्छ आफैं व्यहोर्छु’ उनी भन्छन् ‘सजिलो पर्दा त जो पनि हुन्छ, अप्ठ्यारो पर्दा नै मानिसलाई सान्त्वना र सहानुभूति चाहिने रहेछ ।’ ७५ वर्षिया उनकी आमाको सिसियुमा उपचार हुँदै छ । उनले अहिले पनि अन्य बिरामीलाई आर्थिक र भौतिक सहयोग गरेका छन् ।
उनी जसलाई जहाँ समस्या छ त्यहाँ पुगिहाल्छन् । सबैलाई सहयोग गर्ने खर्च कसरी जुटाउनुहुन्छ भन्नेमा उनको जवाफ छ ‘उखानै छ, तँ चिता म पुर्याउँछु शायद यही होला ।’ उनले समाजसेवा गर्नका लागि भनेर कसैसँग आर्थिक सहयोग मागेका छैनन् । त्यसैगरी उनले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि मासिक पढाई खर्च पनि उपलब्ध गराउँदै आएका छन् । उनले भोलिको दिनमा कुनै स्वार्थ हेरेर आज सेवामा नलागेको स्पष्ट पार्दै आएका छन् ।
त्यतिमात्र होइन विकास निर्माणको काममा पनि घिमिरे सक्रिय छन् । गोदावरी नगरपालीका ३ टौखेलका स्थानीय घिमिरेले आफ्नो निजी खर्चमा सडक बत्ती जडान गरिदिएर गोदावरीलाई झिलिमिली पारेका छन् । उनले आफ्नै खर्चमा १० लाख रुपैंयामा गोदावरी नगरपालिका ३ बियर फ्याक्ट्रीदेखि मन्दिर परिसर र कुण्डसम्म जाने बाटोको लागि बत्ती जडान गरी उज्यालो पारेका हुन् ।
‘मेरो अन्तिम श्वास रहेसम्म म समाजसेवामा लागिरहन्छु, समाजलाई केही दिन सकें भने म त्यसै पनि खुशी हुन्छु’ उनी भन्छन् ‘समाजमा केही काम गर्न पद नै हुनुपर्छ भन्ने छैन, मन उदार भए जे चाहियो त्यही गर्न सकिन्छ ।’ उनी एकातिर राजनीतिमा पनि सक्रिय छन् भने अर्कोतिर जनताको जीवन छुने गरी समाजसेवा गर्दै आएका छन् ।
गोदावारी ललितपुरका उनी कसैलाई अफ्ठ्यारो पर्दा दिनरात केही नभनी पुगिहाल्छन् । कोरोना संक्रमणको दर उच्च हुँदा उनी आफ्नो ज्यानलाई समेत बेवास्ता गर्दै कारोना संक्रमितलाई अस्पताल लिएर जान्थे । ‘त्यतिबेला त बाँच्नु नै ठूलो कुरा थियो, मलाई पनि डर लाग्नुपर्ने हो तर अरुको पीडा देखेर मैले आफ्नो ज्यानलाई पनि जोखिममा राखें’ उनी अहिले भन्छन् ‘ मैले धेरैको ज्यान बचाएँ, घर र समाजले मलाई बाहिर नहिँड्न भने, गाउँवासी त घर बस्नै नदिने अवस्थामा थिए, कोरोना ल्यायो राजले भने, ती सबै दुःख झेलें र म सन्तुष्ट भएँ ।’ कोरोना संक्रमितलाई एम्वुलेन्सले नबोक्दा उनी आफ्नै गाडीमा राखेर संक्रमितलाई अस्पताल लान्थे । उनले पैसाको अभावमा उपचार गर्न नसकेका लागि आर्थिक सहयोग पनि गरे ।