काठमाडौं । दसैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैंका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ।
कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दसैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री वितरण गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरूलाई आग्रह गरे। उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए।
कम्पनीले हाल २ हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ। तर ग्राहकहरूको चाप बढेकाले आवश्यकता अनुसार फेरि पनि खसी, बोका थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन्।
उनले दैनिक ५ सय वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताइन्।