काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी नहुने भएका छन् ।
‘माओवादीको महाधिवेशनमा अध्यक्षज्यू सहभागी हुनहुन्न,’ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले भने । ओली पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शनिबार गृहजिल्ला झापा पुगेका छन् ।
उनका अनुसार अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने कार्यक्रम छ । शनिबार झापा गएका ओलीले सोमबार वा मंगलबार मात्र काठमाडौं फर्कने बजगाईंले जानकारी दिए ।
यसअघि एमालेको महाधिवेशनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिएनन् ।
माओवादीले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको छ ।