काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अलग्गै केन्द्रीय समिति घोषणा गरेका छन्।
पाण्डेले मंगलबार २०१ सदस्यीय समानान्तर समिति घोषणा गरेका हुन्। पाण्डेले विज्ञप्ति जारी गरी ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ केन्द्रीय समिति नाम दिएका छन्।
‘पार्टीको हालको १३० सदस्यीय केन्द्रीय समितिलाई यथावत् राख्दै यसमा पार्टीका अन्य महत्त्वपूर्ण पक्षहरू समावेश गरी ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को तपसिलबमोजिमको केन्द्रीय समिति घोषणा गरेका छौं’, पाण्डेको विज्ञप्तिमा भनेका छन्।
यस अभियानको मूल कार्यभार वैकल्पिक राजनीतिको लिगेसीलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा सांगठनिक रूपमा थप सशक्त बनाउने हुने पाण्डेले उल्लेख गरेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘यस अभियानले घोषणा भएको मितिले ९० दिनभित्र राष्ट्रिय सम्मेलन गर्नेछ भने त्यस अगाडि सम्पूर्ण प्रदेश र जिल्लामा समिति गठन गर्नेछ।’