काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो दललाई कसैले पनि राष्ट्रपति बन्न प्रस्ताव नगरेको बताएका छन् ।
विहीबार आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि नेता खनालले राष्ट्रपतिको निर्वाचन र समीकरणका विषयमा संसद्मा रहेका सबै दलसँग छलफल गर्ने बताए ।
‘अहिले हाम्रो पार्टीको कोही पनि नेतालाई राष्ट्रपतिको प्रस्ताव आएको छैन, त्यसबारे अहिले आएको प्रचार हल्ला मात्रै हो,’ उनले भने, ‘राष्ट्रपतिको निर्वाचन अहिले महत्त्वपूर्ण एजेन्डा हो । यस्तो एजेन्डामा हाम्रो पनि सरोकार हुन्छ ।’
उनले अहिले एमालेसँग पार्टी एकता हुने वा नहुने भन्ने बारेमा बोल्नुको कुनै अर्थ नहुने बताए ।


