काठमाडौं । छिमेकी देश चीन र भारतमा कोभिड– १९ को नयाँ भेरियन्ट बिएफ ७ देखिएसँगै गृह मन्त्रालयले मास्क र स्यानिटाइजर अनिवार्य गर्न तथा भिडभाड नगर्न आग्रह गरेका छन् ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नयाँ भेरियन्टको जोखिम निम्तिन सक्ने भएकाले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भिडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजर प्रयोगको व्यवस्था मिलाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘एक–अर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन’समेत अनुरोध गरेका छन् ।


