काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेसँगै लिलादेवी गड्तौला (निरौला) ले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेको जानकारी दिए।
‘कार्यसम्पादन नियमावली अनुसार मुख्यसचिवको अनुपस्थितिमा प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिवले निमित्त मुख्यसचिवको रुपमा काम गर्ने व्यवस्था छ। सोही अनुसार उहाँले काम गरिरहनुभएको छ,’ आचार्यले भने।
गड्तौला २०७० माघ ९ गते सहसचिव बनेकी थिइन्। २०७७ कात्तिक २७ गतेदेखि उनी सचिवको रुपमा छिन्।