काठमाडौं । नेकपा एमाले भोटेकोशी गाउँपालिका ४ वडा कमिटीले आफ्नो वडाको लागि छुट्याएको बजेट अन्त लान खोजिएको भन्दै त्यसो नगर्न अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
वडा कमिटी अध्यक्ष फुर्वा शेर्पाले शुक्रबार पालिका अध्यक्ष पासाङ नोर्बू शेर्पालाई यसबारे ध्यानाकर्षण गराएका हुन् । अध्यक्षलाई दिइएको पत्रमा वडा नम्बर ४ मा रहेको हिन्दी-नारायणथान-सेलाङकट्टी सडक स्तरोन्नतिका लागि गत आवमा विनियोजन गरेको बजेट अन्त लान खोजिएपछि एमालेले त्यसो नगर्न खबरदारी गरेको हो । पालिकाको लगभग मध्य भागमा पर्ने यस वडामा रहेको उक्त सडकका लागि गत वर्ष नै ४ करोड बजेट विनियोजन गरेको थियो ।
पत्रमा कोदारी अन्तर्राष्ट्रिय राजमार्गसँग जोडिएको हिन्दी-नारायणथान-सेलाङकट्टी शाखा बाटो यस क्षेत्रको अर्को लाइफ लाइन भएको उल्लेख गरिएको छ ।
उपाध्यक्ष, ५ओटै वडाध्यक्ष र कार्यपालिका सदस्यसमेतलाई बोधार्थ दिइएको पत्रमा भनिएको छ, ‘वडावासीको कर्मरेखा भएकोले गाउँकार्यपालिकाले सो सडकमा रकम विनियोजन गरेको भन्नेमा थियो र चाँडै कार्यान्वयनमा आउने आशामा यस क्षेत्रका वासिन्दा धेरै उत्साहित पनि थिए । तर, दुर्भाग्य यस रकमउपर घिनलाग्दो राजनीतिक षड्यन्त्र सुरु भयो । सत्य भन्नैपर्छ, स्थानीय सरकारको नेतृत्व गरिरहेको राजनीतिक दलका प्रमुख तथा जिम्मेवार व्यक्तिले नै विभिन्न षड्यन्त्र र हर्कतहरु गरेको बिगतदेखि नै थियो । यसमा कतै स्थानिय सकारको मौनता पनि हामीलाई केही शंका नलागेको भन्ने होईन ! यद्यपि, दलीय रुपमा हामीले आक्षेप लगाउने काम गरेनौँ । किनकि, हामी घिनलाग्दो राजनीति गर्न चाहन्नौँ । हाम्रो एउटै सपना हो भोटेकोसी गाउँपालिका हरेक हिसाबले समृद्ध हुनुपर्छ । हामीले हदसम्म धैर्य गर्यौँ । अब धैर्यताको बाँध फुटेको छ।’
पत्रमा अगाडि भनिएको छ ‘अब हाम्रो पार्टी ती दल, दलबाट नेतृत्व गरिरहेको स्थानीय सरकार र तिनको मनोमानी चुपचाप सहेर बस्ने अवस्थामा छैन। एउटा जिम्मेवार दलले यस्ता गतिविधिको भण्डाफोर र जनपक्षीय एजेण्डा बनाएर अगाडि बढ्नुको विकल्प छैन । हामी सबैलाई थाहा छ, हिन्दी-नारायणथान-सेलाङकट्टी सडक निर्माणको लागि बोलपत्रसमेत आह्वान भएको थियो । त्यसपछि हामी स्थानीय, सडककिनारमा बस्ने वासिन्दा र सरोकारवाला सरकारी निकायसमेत भेला भई छलफल भएको र सडक निर्माणमा सबैले सहयोग गर्ने तथा कुनै रोकटोक नगर्ने सहमति भएको हो । अझै स्थानिय सरकारले विवादहरुलाई समन्वय ,सहकार्य गर्नेमा हामी विश्वास गरिरहेको थियौ ! तर अहिले अन्य वडामा बजेट स्थान्तरण गर्ने भन्ने विषय आएकोले सो रकम पुरानो शीर्षकमा विनियोजन गर्न नमिल्ने भए शीर्षक परिवर्तन गरेर भए पनि वडा ४ को जनताको पक्षमा सही निर्णय लिन नेकपा (एमाले) भोटेकोशी गाउँपालिका वडा नं ४ कमिटी स्थानीय सरकारसमक्ष जोडदार माग गर्दछ । साथै, जनपक्षीय कामका लागि स्थानीय सरकार प्रमुख, उपप्रमुख , सबै वडाध्यक्ष र कार्यपालिका सदस्यज्यूसमक्ष हामी विनम्र अनुरोध गर्दछौँ ।’
नेकपा एमालेबाट निर्वाचित भएका वडा नम्बर ४ का अध्यक्ष टासी शेर्पाले गत वर्षकै बजेटमा विनियोजन गरिएको उक्त बजेट पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले गत पुस २३ गतेको बैठकमा अन्त लाने प्रस्ताव गरेसँगै बिवाद चर्किेएको बताए । पालिका अध्यक्षले अदालतको आदेशकै कारण उक्त सडकमा काम हुन नसक्ने भन्दै त्यस बजेटमा उल्लेख भएको रकमबाट अन्य वडाका योजनामा खर्च गर्ने प्रस्ताव पेश गरेका थिए ।
उनले अदालतको आदेशकै कारण उक्त सडकमा काम गर्न नसकिने भए पनि उक्त रकम वडामा पर्ने चाकु-थाङबेल-दुधपू सडक, सुनखान- थामीगाउँ -जोमथाङ-छोर्तेन डाडा सडक, मुनिलो गाउँ -काङलाबारी -टुम्बुक सडक, लाङखोला-मानथाङडाडा सडक,लोलाङ -छ्योर्तेन -नाजुम- परसेले सितडाडा -दलथाङ सडक स्तरोन्नतिका लागि खर्च गर्न माग गरेका थिए । उनले गत पुस २३ गते पालिका अध्यक्षले एकलौटी रुपमा गरेको प्रस्ताव आफूलाई अमान्य रहेको भन्दै बैठकमै माइक फालेर हिडेको बताए ।