काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे-८ गोल्मास्थान नजिकै बोलेरो दुर्घटना हुँदा एक दर्जन यात्रु घाइते भएका छन् । मानेस्वाँराबाट बाह्रबिसे बजारतर्फ आइरहेको बा १९ च ८३०४ नम्बरको बोलेरो बिहान ९ः ३० बजे ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
घाइतेमध्ये भावना कार्कीको अवस्था गम्भीर रहेको स्थानीय बिमल राउतले जानकारी दिए । राउतका अनुसार घाइतेमध्ये चालक धनबहादुर तामाङको हातमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । सामान्य घाइतेहरुको बाह्रबिसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । गम्भीर घाइते भएकी कार्कीलाई थप उपचारका लागि अन्य सुविधासम्पन्न अस्पतालमा रिफर गर्ने तयारी भइरहेको छ ।