काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा उनले प्रहरीका एक हजार २०० हतियार र एक लाखभन्दा बढी गोली लुटिएर बाहिर रहेको तथा साढे पाँच हजार कैदी फरार रहेका अवस्थामा निर्वाचनमा जान कठिन हुने बताएका हुन् ।
‘जेनजी भाइबहिनीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि राखेका माग जायज छन्, तर त्यसका नाममा हिंसा मच्चाउने तत्त्वले गरेका अराजक क्रियाकलापको हामी समर्थन गर्न सक्दैनौँ । समाजमा त्रासको वातावरण राखेर सरकार चलाउन वा निर्वाचन गराउनुहुँदैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । हाम्रो सुरक्षा र स्वतन्त्रताको रक्षा राज्यले गर्नुपर्छ । नागरिकले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था आउनुहुँदैन’, ओलीले भने, ‘हामी कुनै हतियार र कमजोर शक्ति होइनौँ । लोकतन्त्रका लागि लडेर आएका दल हौँ । लोकतन्त्र र शान्ति सुव्यवस्थाको पुनःस्थापना गर्न लाग्नेछौँ । त्यसका लागि एमाले सक्रिय रहनेछ ।’


