काठमाडौं । गत असार १ गते आएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा आजदेखि पानी पठाइने भएको छ । मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पुनः पठाउन थालिएको हो ।
आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए।अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटन जोड्ने हो भने यो मेलम्चीको सातौं औपचारिक उद्घाटन हुनेछ ।
२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री विना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् ।
२२ फागुनमा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर वाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।