काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारूढ दलहरूको चुनावी गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै कायम रहने दाबी गरेका छन् ।
बुधवार डा. शेखर कोइराला समूहले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा थापाले सत्तारूढ गठबन्धनको सरकार कायम रहने तर तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै भिड्ने बताएका हुन् ।
‘तीनै तहको चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुँदैन,’ थापाले भने ।
पार्टी सभापति देउवाले पार्टी चलाउने ठीक तरिका नअपनाएको उनले बताए । सभापतिले ठूलो पार्टी बनाउने दाबी गरेको तर अहिलेकै व्यवहारबाट त्यो सम्भव नहुने थापाको धारणा छ ।
‘सभापति ठूलो पार्टी बनाउने भन्नुहुन्छ । त्यो कुरामा हामी सहमत छौं । ठूलो पार्टी बनाउने हो तर पार्टी भित्रै ४० प्रतिशत हिस्सालाई बेवास्ता गरेर कसरी ठूलो पार्टी बन्छ ? ’ उनले भने ।
थापाले भने, ‘सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरो बोल्नुभएको थियो, त्यो पालना भएन ।’
पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने पनि थापाले बताए ।