रोशन ज्ञवाली
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैबीच,नेपाली कांग्रेसका युवा नेता तथा लामो समय नेविसंघको राजनीतिमा सक्रिय रहेका किशोर सिंह राठौरले पनि संस्थापन समुहबाट सह महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका उनी विकासवादी नेताका रुपमा पनि परिचित छन् । कांग्रेसका युवा मतदाताहरुको रोजाईमा परेका उनी कांग्रेसका आशालाग्दा नेता पनि हुन् ।
उनको पार्टीप्रतिको लगाव र इमान्दार काम गराईबाटसभापति शेरबहादुर देउवा विशेष रुपले प्रभावित छन् । राठौरले १३ औं महाधिवेशनमा पनि आफूलाई उम्मेदवार रुपमा प्रस्तुत गरे पनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पार्टी सभापतिमा जिताउन उनी आफू पछि हटेका थिए । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक दुई पार्टी बन्दासमेत उनले देउवालाई साथ दिएर देशभर नै उनले नेविसंघलाई देशैभरचलायमान पारेर अप्ठ्यारो परिस्थितिमा समेत देउवालाई सहयोग गरेका थिए ।
नेपाली कांग्रेसमा पछिल्लो समय युवा नेताले पार्टीको उच्च तहमा रहेर काम गरेमात्र पार्टीको भविष्य राम्रो भएको आँकलन गरिरहेको वर्तमान परिप्रेक्ष्यमा किशोर सिंह राठौरले आफ्नो सम्पूर्ण जीवन नै समाजसेवा र पार्टी राजनीतिमा समर्पण गरेका छन् ।
अर्को महत्वपूर्ण कुरा १४ औं महाधिवेशनमा मतदाता भएर आउने महाधिवेशन प्रतिनिधि पनि अधिकाँश युवा नै भएकाले उनीहरुको रोजाईमा पनि राठौंरले उम्मेदवारीको तयारी गरेका हुन् । अरुको तुलनामा सह महामन्त्रीमा उनलाई बलिया र सम्भाब्य उम्मेदवार मानिएको छ । यस विषयमा उनले आफू निकटका नेता तथा कार्यकर्तासँग ब्यापक परामर्श गरिरहेका छन् ।